Tuesday, September 14, 2010

pramod sharmako kabita

बांदरको पुच्छर लौरो न हतियार 
जतिसुकै उफ्र- जतिसुकै नाच 
जतिसुकै घांटी सुकाऊ - जतिसुकै नाटक रचाऊ
केही हुन सक्दैन तिमी बांदरका संतानहरु बाट |
बार्षिक मदनोत्सबको बेलामा 
बिश्वास र अबिश्वासको शीर्षकमा
जतिसुकै कथा लेख वा नलेख 
मोह भंगको जादू चलाऊ वा नचलाऊ
केही फरक पर्ने छैन -
त्यों बांदर र त्यसको पुच्छरलाई |
रक्तरंजित हातले कुर्सी चढ़ने 
जंगबहादुरको पुच्छर हो यो 
न पत्याए गएर हेर 
पुच्छर पनि रगतले रंगिएको छ |
एकसय चार बर्षको लुछाचुड़ीले नअघाएर
पुरै एक शताब्दिको दमन चक्रले नपुगेर 
मास्छु -मास्छुको गर्जना गर्दै 
त्यसले पुनर्जन्म लिएको छ |
अब पुच्छरले टेकेर भए पनि 
पुरातन शैलीमा नाच्न तम्सिएको छ |
मंचको पर्दा उठने क्रियासंगै
अनाम नृत्यको घोषणा गरिसकेको छ |
मदनोत्सवका सहभागीहरू हो 
धनको खोलामा नुहाउने इच्छा भए 
चांदीको थाल घिसारेर गधाजन्म छोडाउने बिचार भए 
हांगकांगकी बेश्याको म्वाई खाने र खाई माग्ने
पुर्खौली रहर भए 
आउ मंचमा र 
जंग बहादुरको पुच्छरलाई साष्टांग दंडवत गर |
हो, हो, जाऊ -जाऊ यसैमा तिम्रो उसको कल्याण छ |
तिम्रो निमित्त त बांदरको पुच्छर 
सक्कली जीवन र एश्वर्यको खानी देखाउने प्रयास भएतापनि
हाम्रो निमित्त तिम्रो बांदरको पुच्छर लौरो न हतियार |

(samikchha, nepali weekly, 25|13)

No comments:

Post a Comment